जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई (तस्बिरहरू)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्ला सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो ।

त्यसैगरि प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ कास्य पदकसहित रघुगंगा गाउँपालिका दोस्रो र ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका तेस्रो हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल पालिकालाई क्रमश ः नगद रु २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा जिल्लाका ६ वटा पालिकामा सम्पन्न विद्यालय तह स्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा‘खम्बिर’, बेनी नगरपालिका मेयर सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पदक विजेता खेलाडी र उपाधि बिजेता पालिकालाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शलआर्ट तर्फ ३६ पदकमा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुमध्येबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागिताका लागि ९८ जना खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राईले बताउनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार