अन्नपूर्णमा नेतृत्व तथा उद्घोषण तालिम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सदरमुकाम पोखरेबगरमा नेतृत्व तथा उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नारासहित ११४औं अन्तरौष्ट्रिय नारी दिवसको अवसर पारेर तालिम सञ्चालन गरिएको थियो ।

गएको आइतबारदेखि सुरु भई बिहीबार सम्पन्न तालिममा उद्घोषण गर्ने शैली र तरिका, सकारात्मक सोच, व्यक्तित्व तथा नेतृत्व विकास, भाषणकला, औपचारिक कार्यक्रम सञ्चालन, सञ्चार, कार्यक्रममा स्वागत एवं शुभकामना मन्तव्य व्यक्त गर्ने तौरतरिकालगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । व्यक्तित्व र नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

५ दिनसम्म सञ्चालन भएको तालिममा अन्नपूर्ण गाउँपालिकाको विभिन्न वडाबाट गरेर ३४ जनाले सहभागिता जनाएका थिए । तालिमको समापनसत्रलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले व्यक्तिले आफूमा भएको गुण तथा व्यवहार सही ठाउँमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले गतवर्ष पालिकाको विभिन्न तीन ठाउँमा उद्घोषणकला सम्बन्धी तालिमपछि यसपालि पुनर्ताजगीको रुपमा पुनः तालिम सञ्चालन गरिएको बताउँदै तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले गाउँपालिकाबाट नारी दिवसको अवसर पारेर नेतृत्व विकास तथा क्षमता वृद्धि गर्नका लागि तालिम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता तालिम र गोष्ठीहरु सञ्चालन गरिने बताउनुभयो । तालिमको प्रशिक्षकद्वय सुष्मा पौडेल र रामकृष्ण खड्काले सहजीकरण गर्नुभएको थियो । तालिमको समापनसत्र गाउँपालिकाका वरिष्ठ प्रशासन सहायक सविना थापाको सञ्चालनमा सम्पन्न भएको थियो भने सहभागीद्वय समीक्षा शेरपुञ्जा र लिलबहादुर फगामीले अनुभव सुनाउनुभएको थियो । सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार