गलेश्वरमा ४ लाख २९ हजार भेटी संकलन

  म्याग्दी न्युज संवाददाता

बेनी । शिवरात्री पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरधाम मन्दिरमा चार लाख बढी भेटी संकलन भएको छ । शुक्रबार गलेश्वरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटी शनिबार बिहान गणना गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँका अनुसार,यस वर्षको महाशिवरात्री पर्वमा ४ लाख २९ हजार ३८८ रुपैयाँ भेटी संकलन भएको हो ।

पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा शिवरात्रीमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतका स्थानबाट करिब २५ हजार भक्तजन आएका थिए ।महाशिवरात्री पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । खेतीबाली लगाउने कृषकहरु फुर्सद, मौसम अनुकुल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपाली भक्तजन आगामन बढेको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

जिल्ला प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लव र आमा समूहका स्वमसेवकको सहभागितामा पुजालाई व्यवस्थित गरिएको थियो । शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर, कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मन्दिर परिसरमा आज बिहान सरसफाई गरेका छन् ।साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रीको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटि गन्ने गरिएको छ । गत साउन महिनादेखि यता ३७ लाख ९८ हजार ७०५ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव बानियाँले जानकारी दिनुभयो ।गलेश्वरमा भक्तजनले चढाउने भेटी  शालिग्राम बेद विद्याश्रम विद्यालय, जेष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा परिचालन गरिएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार