दग्नाममा खेलमैदान , फाईबर बोर्ड र स्टेज उद्घाटन (तस्बिरहरु)

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा एकता युवा क्लबको नवनिर्मित खेलमैदान, बास्केटबलकाे फाईबर बोर्ड,प्याराफिट र स्टेज उद्घाटन गरिएको छ । युवा क्लबको आयोजनामा सञ्चालित भुमे पुजा मेलाको अवसरमा शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार  थापाले  उद्घाटन गर्नुभयो । सांसद गर्बुजाले भुमेपुजा मेलाले परम्परागत संस्कृति र खेलकुद क्षेत्रको प्रवद्र्धन , खेलप्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । भुमेपुजाको लिङ्गो जुधाइ प्रतियोगिता पराम्परागत संस्कृती मात्र नभई गाउँको पहिचान भएकाे बताउनुभयो ।

कांग्रेस म्याग्दीका सभापती समेत रहनुभएका   सांसद गर्बुजाले दग्नाम– दर्मिजा- चिमखोला र कुइँनेमंगले सडक मर्मत र स्तरोन्नती गर्न बजेट विनियोजनका लागि पहल भइरहेको बताउनुभयो । ‘ सडक स्तरोन्नतीलाई प्राथमिकता दिएर पहल गरिरहेको छु,  उहाँले भन्नुभयो । यसैगरी दर्मिजा तातोपानीलाई व्यवस्थित बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मेला पर्वले एकआपसमा भाइचारा सम्बन्ध स्थापित गर्ने ,खेल प्रतिभाको पहिचान ,संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्नमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले गाउँ–गाउँमा सञ्चालन हुने मेला पर्वलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

क्लब अध्यक्ष मनोज तिलिजाका अनुसार ,गण्डकी प्रदेश सरकारबाट विनियोजित १५ लाख रुपैयाँ बजेटमा खेलमैदान निर्माण गरिएको हो । भने तुण्डी हाइड्रो पावर कम्पनीले १४ लाख रुपैयाँ बजेटमा स्टेज निर्माण गरिएको हो । गाउँपालिकाबाट विनियोजित ११ लाख रुपैयाँमा प्याराफिट निर्माण सहित घेराबार गरिएको छ । भने दग्नाम जन्मघर भई हाल भारतीय सेनामा कार्यरत र अवकाश प्राप्त भुपु सैनिकहरुबाट संकलित रकमबाट फाईबर बोर्ड निर्माण गरिएको छ ।

क्लबका पुर्व अध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी ,भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ,नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाईका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका बताउनुभयो । एक साता सम्म सञ्चालन हुने मेलामा विविध सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरु आयोजना गरिएको क्बल सचिव कृष्ण गर्बुजाले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजा ,वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जा ,दग्नाम–दर्मिजा समाज पोखराका उपाध्यक्ष खेमलाल गर्बुजा लगायतले बोल्नुभएको थियो । कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।क्लबले जग्गादाता र चन्दादाताहरुलाई सम्मान गरेको थियो । भुमेपुजाका अवसरमा दर्मिजामा समेत विहिबारदेखि मेला सुरु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार