म्याग्दीका चिरञ्जीवि शर्मालाई वरिष्ठ अधिवक्ताको उपाधि

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले म्याग्दीका चिरञ्जीवि शर्मा पौडेल सहित १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने भएको छ । बिहीवार बसेको फुलकोर्ट बैंठकले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।शर्मा हाल गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको रुपमा कार्यरत हुनुहुन्छ ।

जिल्लाको बेनी नगरपालिकाका–१०, का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँ लामो समयसम्म शिक्षण पेसामा समेत आबद्ध रहनुभयो । जिल्ला वार एशोसिएशन म्याग्दीको ५ पटक अध्यक्ष हुनुभएका शर्मा लोकतान्त्रिक कानुन व्यवसायी संगठन (डिएलए) जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत बन्नुभयो । राजनिती शास्त्रमा एमए,कानुनमा बिएल र अंग्रेजीमा बिएड पास गर्नुभएका शर्मा कांग्रेस म्याग्दीका पुर्व जिल्ला सचिव समेत हुनुहुन्छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा शर्मादेखि देखि अरुण पौडेलसम्म छन् ।

लामो समयदेखि कानुन व्यवसायमार्फत समाजलाई योगदान गरेको,नैतिक आचरण ,क्षमता ,प्रतिष्ठा विधिको शासन प्रवर्द्धनमा सहयोग पुर्‍याएका अधिवक्ताहरुलाई कदर र सम्मान स्वरुप ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने गरिन्छ । वरिष्ठ अधिवक्ताले अदालतमा बहस पैरवी गर्न जाँदा साथमा एक जना अधिवक्ता लिएर जानुपर्ने नियम छ । नेपालमा पहिलो पटक १२ कात्तिक २०१३ मा सर्वोच्च अदालतले पहिला पटक वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो । सर्वोच्च अदालतकाे  मापदण्ड अनुसार, सर्वोच्च वा उच्च अदालतमा कानुन व्यवसाय गरेको १५ वर्ष पुगेपछि मात्रै उपाधि दिन सकिने व्यवस्था राखिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार