म्याग्दीका जुग्जाली माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा मनाेनित

  म्याग्दी न्युज संवाददाता

बेनी। नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम बहादुर जुग्जाली (सुविन)लाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । गत माघ २१ गते बसेको पदाधिकारी बैठकले म्याग्दीका जुग्जाली सहित सात जना वैकल्पिक केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रहेका जुग्जाली यसअघि माओवादीको प्रदेश कमिटिको सचिवालय सदस्य र म्याग्दी जिल्ला समन्वय समितिको संयोजक रहनुभएको थियो ।

दुई वर्ष माओवादी केन्द्रको जिल्ला समन्वय समितिको नेतृत्व गरेका जुग्जाली गण्डकी प्रदेश सरकारमा १० महिना भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र दुई महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।गण्डकी प्रदेशबाट म्याग्दीका जुग्जाली सहित तनहुँका मदन आलो, बागलुङका धनबहादुर बिक (हिमाल)लाई वैकल्पिक केन्द्रिय सदस्य र कोशी प्रदेशबाट झापाका वीरेन्द्र बस्नेत केन्द्रिय सदस्यमा मनोनित हुनुभएको माओवादीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा उल्लेख छ ।

तनहुँका आले यसअघि जिल्ला समन्वय समितिको संयोजक र बागलुङका विक ताराखोला गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । माओवादी केन्द्रले एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने (चितवन), बद्री तिमिल्सिना (चितवन)र खगेन्द्र छन्त्याल (बागलुङ)लाई वैकल्पिक केन्द्रिय सदस्य तथा अरुण पीडित भण्डारी (चितवन)लाई केन्द्रीय आयोग सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार