बेनी रिङरोड स्तरोन्नतिको काम सुरु (तस्बिर/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नमूना नगरपालिका कार्यक्रम अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति आयोजना निर्माण सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो ।योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले आगामी जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी तीन करोड १९ लाख रुपियाँमा विकेश दुप्चेश्वर सुभम जेभीसँग ठेक्का सम्झौता गरेको कार्यालयका इन्जिनियर विरबल सुनारले जानकारी दिनुभयो ।

भिडिओ हेर्नुहोस्…

उहाँका अनुसार बेनी नगरपालिका- ८, कालीपुलस्थित कालीगण्डकी पक्की मोटरेबल पुलदेखि अगाडि नौ सय मिटर दूरीसम्म ५ देखि ६ मिटर चौढाईमा नालीसहित सडक ढलान गरिने छ । ठेक्का सम्झौता गरी निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएको उहाँले बताउनुभयो ।
नेपाल सरकारले अगाडि बढाएको दस वटा नमूना नगरपालिका कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले बेनी रिङरोड स्तरोन्नति योजना प्रस्ताव गरे अनुसार बजेट विनियोजन भएर योजना अघि बढेको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

‘रिङरोड स्तरोन्नति भएपछि ठुला सवारीसाधनलाई रिङरोडबाट आवतजावत गर्न सहज हुने छ । अहिले रिङरोड हिँउदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे भएर सास्ती भएको छ । रिङरोडबाट उडेको धुलो बजार सम्म आइपुग्ने गरेको छ । यो वर्षको योजनाले काली पुलदेखि जिल्ला प्रहरी कार्यालय सम्म करिब नौ सय मिटर सडक ढलान हुन्छ ।

रिङरोडलाई सम्पन्न गर्न आगामी वर्ष पनि बजेट माग गर्ने नगरको योजना छ ,’ नगर प्रमुख सुरत केसीले भन्नुभयो ।रिङरोड स्तरोन्नति भएपछि रिङरोडबाट उडेको धुलो बजार भित्र आउने समस्या हट्नुका साथै बजार भित्रको सडकमा सवारीसाधन जाम हुने पनि समस्या पनि हट्ने बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो। रिङरोड स्तरोन्नति निर्माण सम्पन्न भएपछि सडक छेउछाउमा फूलहरू रोप्ने र विद्युतीकरण गरेर सौन्दर्यीकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार