बाढीपीडितका लागि बेल्जियमका नेपाली संस्थाबाट चार लाख सहयोग

बेल्जियम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बेल्जियममा रहेका नेपाली संघसंस्थाले चार लाख रुपैयाँ सहयोग गरेका छन् । मोना बेल्जियम, ठकुरी समाज बेल्जियम र राखु समाज बेल्जियमले छुट्टाछुट्टै रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको मोना बेल्जियमका पूर्वअध्यक्ष घनश्याम शाहीले जानकारी दिनुभयो ।

म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमका अध्यक्ष ज्ञान बहादुर रकालको संयोजकत्वमा दुई लाख रुपैयाँ, ठकुरी समाजका अध्यक्ष सुज्जन मल्लको संयोजकत्वमा एक लाख रुपैयाँ र राखु समाजकी अध्यक्ष शोभा शाहीको संयोजकत्वमा एक लाख रुपैयाँ संकलन गरिएको हो ।

राखु समाजले यस वर्षको तीज कार्यक्रमसमेत रद्द गरी त्यसका लागि छुट्याइएको रकम बाढीपीडितको सहयोगमा प्रयोग गरेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार र प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सबै पक्षले सहयोग र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायतका जिल्लामा पुगेको क्षति समग्र नेपालीको साझा पीडा भएको मोना बेल्जियमका पूर्वअध्यक्ष समेत रहेका शाहीले बताउनुभयो । विपत्तिको समयमा विदेशमा रहेका नेपाली समुदायले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

यही भदौ १० गते बिहान चीनको तिब्बततर्फबाट आएको आकस्मिक भिषण बाढीका कारण रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको थियो । बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत परेको छ भने बाढीमा बगेका शव तथा मानव अङ्गसमेत विभिन्न स्थानमा फेला परिरहेका छन् ।

बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै उद्धार, उपचार र दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै बेल्जियममा रहेका नेपाली संघसंस्थाले आफ्नो तर्फबाट सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार