बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार

  म्याग्दी न्युज संवाददाता

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान जीवितै उद्धार गरेको छ । उद्धार हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ का ३० वर्षीय सञ्जय साह र काठमाडौंको बालकुमारीका ४५ वर्षीय कविर महर्जन रहेका छन् । साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान ९ः२० बजेसम्म दुवै जनालाई सुरुङबाट बाहिर निकालिएको हो । उद्धारपछि उनीहरूलाई घटनास्थलमै प्राथमिक उपचार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

उद्धार गरिएका साहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढी आएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्राथमिकता दिँदा आफू अन्तिममा फसेको बताउनुभएको छ । सबैलाई बाहिर पठाउने क्रममा समय बितेकाले आफू सुरुङबाट बाहिर निस्कन नसकेको उहाँले बताउनुभएको छ ।

सुरुङभित्र फसेपछि महामन्त्र जप्दै बसेको बताउनुभएका साहले अझै केही व्यक्ति सुरुङभित्र फसेको हुन सक्ने जानकारी दिनुभएको छ ।

महर्जनको अवस्था भने जटिल रहेको जनाइएको छ । उहाँलाई काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ । सञ्जय साहको अवस्था भने सामान्य रहेको छ ।

यही भदौ १० गते बिहान तिब्बततर्फबाट आएको भीषण बाढीका कारण आयोजनाको सुरुङमा काम गरिरहेका केही व्यक्ति फसेका थिए । उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो ।

दुई जनाको जीवित उद्धार भए पनि सुरुङभित्र अझै कोही फसेका छन् कि छैनन् भन्ने यकिन गर्न खोजी तथा उद्धार कार्य जारी रहेको छ । स्रोतः नेपाल आर्मी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार