काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बेपत्ता भएकी ६४ वर्षीया चन्डिका श्रेष्ठ ११ दिनपछि शनिबार जीवितै उद्धार गरिएको छ । बाढीले घरसहित बगाएपछि लामो समयसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवारले उनको मृत्यु भएको ठानेर काठमाडौँको सानो भर्याङस्थित घरमा कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको थियो ।
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती निवासी आनन्दलाल श्रेष्ठकी श्रीमती चण्डिकालाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले बेत्रावती बजारस्थित एक घरबाट अर्धचेत अवस्थामा उद्धार गरेको हो ।
उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँको छाउनीस्थित सैनिक अस्पताल ल्याइएको छ ।
यही भदौ १० गते आएको भीषण बाढीले चन्डिका बस्दै आएको साढे चारतले घर नै बगाएको थियो । त्यसपछि उनको खोजी जारी राखिए पनि आठ दिनसम्म फेला नपरेपछि परिवारले उनी जीवित नरहेको निष्कर्ष निकाल्दै काजकिरिया सुरु गरेको थियो । तर, बाढी आएको ११औँ दिनमा श्रेष्ठ जीवितै फेला परेपछि परिवारमा खुसी छाएको छ ।
उनका सम्धी रमेशमान श्रेष्ठले आफूले अन्तिम समयसम्म पनि चन्डिका जीवितै हुन सक्ने आशा नछाडेको बताउनुभयो । चन्द्रिकालाई जीवितै उद्धार गरिएको खबर पाएपछि भावुक हुँदै उहाँले भन्नुभयो, ‘यो संसारमा भगवान् साँच्चै रहेछ जस्तो लाग्यो ।’














