
गलेश्वर, भदौ १७ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि बेनी नगरपालिका–९, गलेश्वरका स्थानीयवासीले २ लाख ७ हजार ६ सय ३५ रुपैयाँ सहयोग गरेका छन् । गलेश्वर क्षेत्रका विभिन्न संघसंस्था तथा स्थानीयवासीबाट संकलित उक्त रकम मंगलबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको सहयोगका लागि गलेश्वरवासीले स्वतःस्फूर्त रूपमा राहत रकम संकलन गरेका हुन् ।

विपद्को कठिन समयमा प्रभावित परिवारलाई केही राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले गलेश्वरवासीको आपसी सहकार्यमा रकम संकलन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार अधिकांशले क्यूआरमार्फत सहयोग गरे पनि प्रविधिको पहुँच र ज्ञान नभएका व्यक्तिलाई समेत अभियानमा सहभागी गराउन घरदैलो अभियान सञ्चालन गरिएको थियो ।

विपद्को समयमा सञ्चालन गरिएको यस अभियानले स्थानीय समुदायबीचको मानवीय सहयोग र सामाजिक एकतालाई थप बलियो बनाएको उपाध्यक्ष पुनले बताउनुभयो ।
राहत संकलन अभियानमा गलेश्वर आदर्श आवासीय माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी, युवा रेडक्रस गलेश्वर, गलेश्वर शिव युवा क्लब, गलेश्वरधाम आमा समूह, गलेश्वर टोल सुधार समिति, गलेश्वर फुटसल समूहलगायत विभिन्न संघसंस्था तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियानमा गलेश्वरवासीसँगै विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थाले समेत सहयोग गर्दै आएका छन् ।






































