
बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा अचेत अवस्थामा उद्धार गरी उपचारको क्रममा चिकित्सकले मृत घोषित एक पुरुषको शव पहिचान नहुँदा विगत चार दिनदेखि बेनी अस्पतालमा अलपत्र बनेको छ । बेनी नगरपालिका वडा नं ८ न्यूरोडस्थित कृषि विकास बैंकको गल्लीबाट अस्पतालमा लगिएको थियो ।
याे पनि…
मृतक पुरुषको पहिचान समेत हुन नसकेका तथा आफन्तहरु सम्पर्कमा नआएपछि म्याग्दी प्रहरीले आफ्नो आधिकारिक फेसबुकबाट मृतकको हुलिया समेत सार्वजनिक गरेर सम्पर्कमा आउन आग्रह गरेको हो।प्रहरीले शवको लाशजाँच मुचुल्का लगायतका प्रारम्भीक प्रक्रिया पूरा गरी अस्पतालकै शबगृहमा राखेको छ । मृत पुरुषका आफन्तजनहरू सम्पर्कमा कोही पनि नआएकोले मृतकको शवलाई चिन्ने आफन्तजनहरू सनाखतको लागी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा अबिलम्ब सम्पर्क राख्न अनुरोध गरिएको छ ।
प्रहरीले सुचना जारी गरी सम्वन्धित घरपरिवार वा आफन्त सम्पर्कमा नआए कानुनी प्रक्रिया पूरा गरी बेवारिसे शबको रुपम स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ ।मृतकको साथमा कुनै कागजात, र व्यक्तिगत सामानहरु समेत नभएकाले पहिचान गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर पौडेलले बताउनुभयो । अत्याधिक मदिराको सेवन गर्ने मृतक अन्य कुनै जिल्लाबाट मजदुरीका लागि आएको हुन सक्ने अनुमान गरिएको छ ।