म्याग्दी । गरगहना टल्काइदिने भन्दै विभिन्न रसायन प्रयोग गरी सुनको तौल घटाएर ठगी गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, पूर्वी चम्पारण जिल्ला, गोरासहनका ४० वर्षीय सोनु साह र ३७ वर्षीय दुर्गा साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार भदौ ११ गते बेनी नगरपालिका–३, मुसुङकी मनदेवी विककी सासूआमा घरमा एक्लै रहेको अवस्थामा गरगहना टल्काइदिने भन्दै दुई जना व्यक्ति पुगेका थिए । उनीहरूले विभिन्न रसायन प्रयोग गरी गरगहनाको तौल घटाएर ठगी गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सूचनाका आधारमा प्रहरी चौकी सिङ्गा तातोपानीबाट खटिएको टोलीले खोजी गर्ने क्रममा उनीहरूलाई भदौ १२ गते साँझ करिब ४ बजे मंगला गाउँपालिका–३, बरंजादहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनाविरुद्ध ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















