
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र सोही गाउँपालिका दर्मिजाका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । दग्नाम वैदेशिक सहयोग समिति बहराइनको आर्थिक सहयोगमा प्रकाशित साहित्यकार गुन पुन ‘गुञ्जन’को मुक्तक संग्रह ‘प्रेम र आँसु’ बिक्रीबाट प्राप्त रकमले ६६ जना विद्यार्थीलाई करिब १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो ।

सोमबार जनता माध्यमिक विद्यालय दग्नामका ३९ जना र शिव आधारभूत विद्यालय दर्मिजाका २७ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा साहित्यकार गुनबहादुर पुनले जानकारी दिनुभयो ।
विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि कुमारी गर्बुजाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई गरिने सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन तथा शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले विद्यालय तहबाटै विद्यार्थीलाई नैतिक शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
आर्थिक अभावका कारण पढाइमा समस्या भोगिरहेका बालबालिकालाई सहयोग पु¥याउने तथा विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको साहित्यकार पुनले बताउनुभयो । उहाँले विद्यार्थीको शैक्षिक स्तर उकास्न शिक्षकले विद्यार्थीप्रति गर्ने व्यवहारमा समेत सुधार आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साहित्यकार पुनद्वारा लिखित ‘प्रेम र आँसु’ मुक्तक संग्रह विसं २०८१ फागुन २ गते विमोचन गरिएको थियो । उक्त संग्रहमा सुख–दुःख, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना तथा जीवनका आरोह–अवरोहलाई मुक्तकमार्फत प्रस्तुत गरिएको छ ।
पेसाले निमावि तहका शिक्षकसमेत रहनुभएका पुन विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ । ‘प्रेम र आँसु’ उहाँको चौथो प्रकाशित कृति हो । यसअघि उहाँका ‘गजल गाथा’ (गजल संग्रह, २०६२), ‘याद बाँकी छ’ (गजल संग्रह, २०७१) र ‘ढिकिबोटे थाने पुन खलक’ (खोज, २०८१) प्रकाशित भइसकेका छन् ।
उहाँका ‘जीवनको अन्तिम प्रहर’ (कविता संग्रह), ‘दबिएको आवाज’ (उपन्यास), ‘समय फेरिएछ’ (गजल संग्रह) र ‘मनभित्रको नियात्रा’ लगायतका कृति प्रकाशोन्मुख छन् ।
जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक खड्क गर्बुजा र लक्ष्मी पाइजाले गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य चित्रबहादुर गर्बुजा, शिव आधारभूत विद्यालयका प्रधानाध्यापक सविन थापा, समाजसेवी मिलन गर्बुजा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।






































