लण्डन,सोमबार बैशाख २९ गते । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए ।
मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । अहिलेसम्म ४९ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैरगोर्खाको मृत्यु भएको उनले बताए । यस्तै २० जनाको लन्डनभित्र र बाँकी ४० जनाको लन्डनभन्दा बाहिरका विभिन्न स्थानमा मृत्यु भएको दूतावासले जनाएको छ ।
मृत्यु हुनेमा धेरैजसो ७० वर्षमाथिका छन् । नेपाली दूतावास लन्डन र गोर्खा वेल्फेयर ट्रष्ट, भूतपूर्व गोर्खाका संघसंस्था लगायतको संयुक्त प्रयासमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।विश्वभरिमा हालसम्म कुल ८७ जना नेपालीहरुको कोरोनाको कारण ज्यान गैसकेको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको छ भने संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनएले जनाएको छ । रातोपाटी