काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको बैठक एक घण्टा भन्दा बढी समय बसेर सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नयाँ जनादेशमा जानुपर्ने कुरा राखेपछि बैठक असहजतर्फ गएको थियो । राष्ट्रपतिले मुलुकको अहिलेको वर्तमान परिस्थितिको बारेमा आफू चिन्तित रहेको बताउँदै दलहरु मिलेर अघि बढ्न आग्रह गरेकी थिइन् ।
उनको आग्रह लगत्तै प्रधानमन्त्री ओलीले अबको राजनीतिक निकास भनेको ताजा जनादेश भएको बताएपछि बैठक असहजतातर्फ मोडिएको थियो ।बैठकमा सहभागी नेताहरुले ‘ताजा जनादेशमार्फत नै दुई तिहाइ मतसहितको सरकारको नेतृत्व तपाइँले नै गर्नु भएको होइन र ?’ भन्दै प्रश्न गरे ।
नेताहरुको प्रश्नमा अवाक भएका प्रधानमन्त्री जवाफ दिँदै भने, ‘तपाईँहरुले अरु केही भन्नु छ । यो त बितेका कुरा हुन् ।’ नेताहरुको जवाफ दिन नसकेपछि ओली आरोप प्रत्यारोपमा उत्रिएका थिए । राष्ट्रपतिले बोलाएको यो बैठक प्रधानमन्त्री केपी ओलीलाई सहज पार्नका लागि बोलाइएको आरोप थियो । इकागज