मकवानपुरमा निजी अस्पताललाई कोभिड अस्पताल बनाइने

मकवानपुर । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मकवानपुरले हेटौंडा उपमहानगरपालिका– ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको डिसी सीएमसीको बैठकले उक्त अस्पतालमा आइसियू सहितको २५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले कोरोना संक्रमित विरामीहरुको उपचारमा खटिरहेको जिल्लाको एक मात्र अस्पताल हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन तत्काल हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्यकर्मीहरु नियुक्त गरी काजमा खटाउने निर्णय गरेको छ ।

जिल्लामा निषेधाज्ञाको पूर्ण पालना गराउनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भए बाहेकका कुनै पनि पासलाई मान्यता नदिने निर्णय गरेको छ । बैठकले निषेधाज्ञाको पूर्ण पालना गराउन जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक कार्यालय मकवानपुर र मातहतको कार्यालयलाई निर्देशन दिएको छ ।

जिल्लामा अक्सिजनको अभाव हुन नदिन शिवम् सिमेन्टबाट प्राप्त ४२ थान अक्सिजन तत्काल कोरोना संक्रमितहरुको उपचारका लागि हेटौंडा अस्पतालमा पठाउने व्यवस्था मिलाउन भनिएको छ । बैठकले कोरोना माहामारीको मौका पारेर बजारमा खाद्यान्न लगायतका सामग्रीको मूल्य वृद्धि हुन नदिन घरेलु तथा साना उद्योग कार्यालयलाई बजार अनुगमनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार