उखुको अझै साढे १२ करोड बक्यौता रहेको किसानको दावी

काठमाडौं । पाँच वर्षअघि चिनी मिललाई बिक्री गरेको उखुको १२ करोड ६४ लाख रुपैयाँ बक्यौता अझै बाँकी रहेको उखु किसान संघर्स समिति सर्लाहीले जनाएको छ ।

सरकारले हिसाब गरेको कुल ६५ करोड बक्यौता मध्येबाट उक्त रकम अझै पनि किसानले नपाएको संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो ।उद्योगी र किसानको दाबीमा फरक परेको २५ करोड बाहेकको झण्डै १३ करोड रुपैयाँ अझै उद्योगबाट प्राप्त नभएको मिश्रले बताउनुभयो।

किसानले दाबी गरेको ९० करोडमध्येको थप २५ करोडको हिसाब खोज्न पनि सरकारले चासो नदिएको समितिको गुनासो छ । ‘सरकारले दिनु भनेकै रकमबाट झण्डै १३ करोड पाएका छैनौं, थप अध्ययन गर्ने भनेको २५ करोडमा सरकार मौन छ,’ संरक्षक मिश्रले भन्नुभयो । पुस महिनाभित्रै सबै रकम भुक्तानी नभए माघबाट पुनः आन्दोलनको तयारी गर्ने पनि उहाँले चेतावनी दिनुभयो।

संघर्ष समितिका सचिव हरेश्याम यादवका अनुसार अन्नपूर्ण, श्रीराम, महालक्ष्मी, इन्दिरा र लुम्बिनी चिनी मिलले किसानलाई अझै बक्यौता तिर्न बाँकी छ । अन्नपूर्ण चिनी मिलले ५ करोड, श्रीरामले ३ करोड १४ लाख, महालक्ष्मी सुगर मिलले ३ करोड र इन्दिरा सुगरले एक करोड ५० लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।

अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले मिल बिक्री गरेको र नयाँ सञ्चालकले किसानलाई चेक वितरण गरे पनि सबै चेक नसाटिएको सचिव यादवले बताउनुभयो । यस्तै श्रीराम सुगर मिलले बकयौता रकम जिल्ला प्रशासनमा दिए पनि किसानको विवरण नदिँदा वितरण नभएर थन्किएको समितिले जनाएको छ ।

अन्य मिलले भने रकम भुक्तानीका लागि खासै चासो नदिएको समितिले जनाएको छ । उखु किसानको वक्यौता भुक्तानी विवादबारे किसानबाट थप ताकेता नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ‘दुई महिनाअघि केही चासो व्यक्त भएपनि अहिले किसानहरु सम्र्पकमा हुनुहुन्न, भुक्तानीमा समस्या भए गृह मन्त्रालयमा जानकारी गराउन भनेका छौं,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.नारायाणप्रसाद रेग्मीले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार