एजेन्सी । इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने हुनुभएको छ । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गर्नुभएको हो ।
यसअघि नै युरोकप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने तय भएको थियो । सोमबार राति इटालियन सिरी ‘ए’ मा सासुओलोलाई २–१ अन्तरले पराजित गरेसँगै युभेन्ट्सका रक्षक चेलिनीले अन्तर्राष्ट्रिय खेलबाट टाढा रहने निर्णय लिनुभएको हो।
‘म राष्ट्रिय टोलीलाई वेम्वली रंगशालाबाट बिदाइ गर्न चाहन्छु,’ चेलिनीले भन्नुभएको छ, ‘जहाँ मैले युरोकप जितेर करियरको अनुभव बाढेको छु ।’ जर्जियो चेलिनीले सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यु गर्नुभएको थियो । त्यसयता उहाँले ११६ क्याप जित्नुभएको छ । जसमा आठ गोलसमेत रहेको छ । यसैवर्ष कतारमा हुने फिफा विश्वकप–२०२२ मा इटाली स्थान बनाउन असफल भएको छ । रातोपाटीबाट