काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धा जति रोमाञ्चक छ, उपमेयरको प्रतिस्पर्धा त्यति छैन। उपमयेरमा नेकपा एमालेकी सुनिता डंगोल आफ्ना विपक्षीभन्दा तीन गुणा बढी मतले अघि हुनुहुन्छ ।
पछिल्लो मत परिणामअनुसार सुनिताको ९४२१ मत छ। उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको २६६४ मत छ। सुरूआती चरणमै धेरै मतान्तर भएपछि उपमयेरमा डंगोलले सजिलै बाजी मार्ने बाहिर अड्कल हुन थालेको छ। डंगोलले आफूले पाएको मत काठमाडौंवासीको माया र विश्वास रहेको प्रतिक्रिया दिनुर्भएको छ ।
उनले सेतापाटीसँगको कुराकानीमा भन्नुभयो, ‘जति धेरै मत बढिरहेको छ त्यति नै जिम्मेवारी महसुस भइरहेको छ। यो मत काठमाडौंवासीले ममा देखाउनुभएको माया र विश्वास हो।’मिस नेवा-२०११ की विजेतासमेत रहेकी डंगोलले सुरूमा यसपालि काठमाडौंको मेयरमै उठ्ने चाहना राख्नुभएको थियो। त्यसका लागि उहाँ सकेसम्म कुनै दलसम्म मिलेर जाने नभए स्वतन्त्र नै उठ्ने सोचमा हुनुहुन्थ्यो। तर अन्तिम समयमा एमालेले उपमेयरको प्रस्ताव गरेपछि डंगोल त्यसका लागि राजी हुनुभयो।
उपमेयरमा डंगोलले उल्लेखित मत पाइरहँदा एमालेबाटै मेयर उम्मेदवार केशव स्थापितले भने उहाँको जसरी मत पाइरहनुभएको छैन । डंगोलले झन्डै १० हजार मत पाउँदा स्थापितको ५८४१ मत छ। उहाँलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पाँच हजार बढी मतले पछि पार्नुभएको छ । बालेनले सुरूदेखि जसरी अग्रता लिइरहेका छन्, बाहिर मानिसहरूमा उहाँले नै मेयर जित्ने कुराकानी हुन थालेको छ।
डंगोल भने मेयरको नतिजा अहिले नै अनुमान गर्न नसकिने बताउनुहुन्छ । मतगणना सुरूआती चरणमा रहेको उल्लेख गर्दै डंगोलले सेतोपाटीसँग भन्नुभयो, ‘धेरै मतगणना भइसकेको छैन। मेरै हकमा पनि म धेरै रोमाञ्चित भएकी छैन। त्यसैले अहिले नै ‘कन्क्लुजनु मा पुग्नु हुँदैन।’डंगोलले अझै धेरै मत गन्न बाँकी रहेको उल्लेख गर्दै मेयरमा एमालेकै जित हुने बताउनुभयो।
‘मलाई हामी राम्रोसँग कमब्याक गर्छौं भन्ने लाग्छ। धैर्य साथ कुरिरहेकी छु। म अझै आशावादी छु,’उहाँले भन्नुभयो। अहिले केही वडाहरूको मात्र गणना भइरहेको भन्दै सबै ठाउँमा एउटै पक्षको वर्चस्व नहुने डंगोलको भनाइ छ।उहाँ भन्नुहुन्छ, ‘अहिले चार–पाँच वटा वडाको मात्र गणना भएको छ। सबै ठाउँमा सबैलाई बराबरी मन पराउँछन् भन्ने छैन। म चाहिँ ‘वेट एन्ड वाच’ भन्छु। नतिजा आएपछि थाहा भइहाल्छ।’
केशव स्थापित आफैंले पनि आफ्नो जित सुनिश्चित रहेको प्रतिक्रिया दिइसक्नुभएको छ । उहाँले यसअघि सेतोपाटीसँग कुरा गर्दै आफूले जित्ने र बालेन शाह तेस्रो हुने बताउनुभएको छ । ‘मतगणना भित्री सहर प्रवेश नगरेसम्म राय बनाउन जरूरी छैन,’स्थापितले आइतबार भन्नुभयो, ‘जित्ने मैले नै यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नु होला। बालेन तेस्रो हो।’ सेतोपाटीबाट