काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दाबी गर्नुभएको छ । बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको जनमत यथावत रहेको दाबी गर्नुभएको हो ।
उहाँले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफुहरुको पराजय भएको बताउनुभयो । उहाँले एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी समग्र देशैभरिको तथ्यहरु संकलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत छ ।
तर अब पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरुमा एउटा अर्को पार्टी थपिन बित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो । हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत नेकपा (एमाले) ले करिब–करिब ४८ सालको निर्वाचन देखि नै त्यो मतमा चाहिँ प्रारम्भिक ट्रेन्डहरु हेर्दा हाम्रो जनमतमा तलमाथि भएको म देख्दिनँ ।’
उहाँले कतै कतै पार्टीको आन्तरिक कारणहरूले पनि पार्टीले हारेको भन्दै त्यसको समीक्षा गर्ने बताउनुभयो । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरु टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी) लाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाइदिएको टिप्पणी गर्नुभयो ।
त्यसैगरी संसद भवनमै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एमाले) का सांसद भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताउनुभयो। एमालेको विभाजन पनि हारको कारण भएको उहाँको भनाई छ । त्यसैगरी पार्टीहरू प्रति जनताले हेर्ने दृष्टिकोण र वितृष्णा रहनु अर्को कारण भएको उहाँले उल्लेख गर्नुभयो । ratopati