काठमाडौँ । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रूपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो ।
उहाँले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वीरगञ्जवासीसँग दैनिकी रूपमा जोडिएका जुन समस्याहरू छन् । सर्वप्रथम हामी त्यसलाई निदान गर्छौ । त्यसपछि विभिन्न सम्बन्धित विज्ञहरूसँग बसेर जसरी हामीले सुरुमा भनेका छौँ, करको विषयमा, स्वास्थ्य, शिक्षाको विषयमा हामी अगाडी बढ्छौँ ।्
वीरगञ्जको सरसफाइ एउटा चुनौतीको रूपमा छ । वीरगञ्जवासीलाई वर्षातमा पानी जम्ने समस्या छ, यो सबै दैनिकीसँग जोडिएको कुराहरूलाई पहिलो प्राथमिकतामा राखेको छौँ ।’ जनता समाजवादी पार्टीका नेता सिंहले सत्तारुढ गठबन्धनको तर्फबाट विजय हासिल गर्नुभएको हो । नेकपा(एमाले)का तर्फबाट मेयरका उम्मेदवार एवम् निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।
वैशाख ३० गतेको मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाउनुभएको छ । यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरीश गिरीले भने ३ हजार ३ सय १३ मत पाउनु भएको छ । महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी हुनुभएको छ ।
निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बर भन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित हुनुभएको हो । उपमेयरमा विजयी आलमले ३० हजार ७८ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत ल्याउनु भएको छ । मेयर र उपमेयरमा एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए । रातोपाटीबाट