काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गर्नुभएको छ । सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दावी समेत गर्नुभयो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताउनुभयो । सांसद चौधरीले भन्नुभयो, ‘बजेट सन्तोषजनक छ । नेपाली समाजको कम्पोजिशनलाई हेरेर बजेट ल्याएकाले म माननीय अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै अघि बढेको छ ।
र, समग्रमा बजेटले उत्पादनमा, स्थिरता र समावेशितामा जोड दिएको मैले अनुभूति गरेको छु । त्यसैले पनि यो बजेट धेरै महत्वपूर्ण छ । त्यसैगरी बजेटले कृषि क्षेत्रको रुपान्तरण गर्ने कुरालाई धेरै प्राथमिकतामा राखेको छ । र, सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन गर्ने कुरा समावेश गरिएको छ । रोजगारी सृजना र गरिवी निवारणको कुरालाई पनि बजेटमा धेरै महत्वका साथ उठाइएको छ ।
यतिमात्रै नभई मानव संशाधनको विकास गर्ने कुरा, पूर्वाधार विकास र पूँजी निर्माण गर्ने कुरा, जलविद्युत उत्पादन, प्रशारण लाइनको विस्तार र ग्रामिण विद्युतीकरणमा जोड दिने कुरा बजेटमा उल्लेख गरिएको छ । बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेको छ ।’ सांसद चौधरीले बजेटमा पूर्वाधार विकास र पूँजी निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने कुरा पनि समावेश गरिएको बताउनुभयो । रातोपाटीबाट