सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोज्यो : पोखरेल

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सैनिक गठबन्धन गरेर देशलाई भूराजनीतिक द्धन्द्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली जनता कुनै पनि सैनिक गठबन्धनको पक्षमा नभएको उल्लेख गर्दै महासचिव पोखरेलले असंलग्न परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकुल प्रभाव पार्ने कार्य नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपाल रूपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।पोखरेलले एमाले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा नरहेको उल्लेख गर्दै नेपालको असंलग्न परराष्ट्र नीति विपरित कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पारे। ‘अमेरिकी सैन्य रणनीतिमा देशलाई पुर्‍याउने कुनै पनि काम एमालेलाई स्वीकार्य छैन’, उहाँले भन्नुभयो, ‘एमाले असंलग्न परराष्ट्र नीतिको पक्षमा छ।’

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका महासचिव पोखरेलले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सरकारलाई सुझाव दिनुभयो । ‘देशलाई भूराजनीतिक द्धन्द्धमा धकेल्ने र त्यसमा नेपाली सेनालाई जोड्ने कार्य एमालेलाई स्वीकार्य छैन,’ पोखरेलले भन्नुभयो।महासचिव पोखरेलले सबैभन्दा पुरानो दल नेपाली कांग्रेस विकास र समृद्धिलाई छोडेर गठबन्धनको राजनितिमा रमाईरहेको जिकिर गर्नुभयो । मुलुकको विकास र समृद्धिको लागि गठबन्धनको राजनीति उपयुक्त नभएको तर्क गर्दै उहाँले गठबन्धनले कुनै पनि व्यक्ति र पार्टीमा केही समय सत्तामा टिकाए पनि त्यसले मुलुकको विकास र राजनीतिक निकास ननिस्किने दावी गर्नुभयो।

‘विकास र समृद्धिलाई पन्छाएर गठबन्धनबाट गरिने सत्ता राजनीतिले मुलुकको विकास हुन सक्दैन, मुलुकको विकासको लागि नीतिगत राजनीति जरूरी छ जुन एमालेले गरिरहेको छ,’ पोखरेलले दाबी गर्नुभयो। महासचिव पोखरेलले मुलुक अहिले इतिहाँसमै सबैभन्दा ठूलो आर्थिक संकटको अवस्थामा पुगेको जिकिर गर्नुभयो । ‘अहिले असाधारण खर्च बढिरहेको छ, एमालेको पालोमा ३ दशमलव ७ प्रतिशत रहेको मूल्यवृद्धि अहिले ७ दशमलव ७ प्रतिशत भन्दा माथि पुगेको छ, सरकार भने कुर्सी जोगाउनमै केन्द्रित छ,’ उहाँले भन्नुभयो।

अवैध बाटोबाट कमाएको कालो धनलाई सेतो बनाउने योजनामा नेपालको ठूलो धनराशी कालो धनवालाको ढुकुटीमा थुप्रिएको दाबी गर्दै महासचिव पोखरेलले जसका कारण मौद्रिक संकट उत्पन्न भएको बताउनुभयो । ‘पैसा अहिले न त बैंकमा छ, न त बजारमा, बैंकहरु स्वीकृत भएको ऋण समेत दिन नसक्ने अवस्थामा पुगेको छन्, वैधानिक बाटोबाट आउनुपर्ने रेमिटेन्स हुण्डि जस्तो अवैध बाटोबाट आउन थालेको छ, यस्तै अवस्था कायम रहे मुलुक ठूलो आर्थिक संकटमा पुग्ने खतरा देखिएको छ,’ पोखरेलले भननुभयो ।

महासचिव पोखरेलले एमालेलाई कमजोर बनाउने र उद्धेश्यका साथ आफू र उपाध्यक्ष विष्णु पौडेलका बीचमा अनर्गल प्रचार गर्ने गरिएको जिकिर गर्दै पौडेल र आफ्नो सम्बन्ध सुमधुर रहेको स्पष्ट पार्नुभयो। ‘विष्णु पौडेल पार्टीको महत्वपूर्ण नेता हो, उहाँलाई कमजोर बनाएर एमाले बलियो बनाउन कसैले खोजेको छ भने त्यो मुर्खता हो, विष्णु पौडेललाई कमजोर बनाएर एमाले बलियो बन्न सक्दैन,’ उहाँले भन्नुभयो।महासचिव पोखरेलले एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासन आयोगले कारवाहीको सिफारिस गरे पनि पार्टीले उपयुक्त निर्णय लिने बताउनुभयो ।

‘अनुशासन आयोग पार्टीको स्वायत्त निकाय हो, त्यसले आफ्नो रिपोर्ट पनि पार्टीलाई बुझाएको छैन, रिपोर्ट बुझाएपछि केन्द्रीय कमिटीले उपयुक्त निर्णय गर्ला,’ पोखरेलले भन्नुभयो। वाम गठबन्धनको सम्भावना कत्तिको छ भन्ने जिज्ञासामा महासचिव पोखरेलले अहिलेको अवस्थामा वाव गठबन्धनको सम्भावना नरहेको स्पष्ट पार्नुभयो। ‘वाम गठबन्धनको लागि सबैभन्दा पहिले उहाँहरु वामपन्थी बाटोमा आउनुपर्‍यो, दक्षिणपन्थी बाटोमा हिँडेकासँग वामपन्थीको गठबन्धन हुन सक्दैन,’ पोखरेलले भन्नुभयो। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार