एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् ।
राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरुका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको छ । त्यसैगरी विश्व खाद्य कार्यक्रमले खाद्यान्न तथा विश्व स्वास्थ्य सङ्गठनले पीडित तथा घाइतेहरूका लागि आवश्यक औषधिको प्रबन्ध गरिरहेको पनि प्रवक्ता डुजारिकले जानकारी दिए ।
अन्य विदेशी निकाय तथा पाकिस्तानले पनि यहाँका पीडितहरुका लागि टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गरिरहेका बताइएको छ । अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको ६।१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी एक हजार जना भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ व्यक्ति प्रभावित भएका छन् ।
भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार विहान १।३० बजेतिर भूकम्प आएको हो । घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौँ उद्धारकर्ता पनि परिचालित छन् । तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरुलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । रातोपाटीबाट