विद्यालयमा म्याग्दी जेसीजद्वारा न्यानो कपडा वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित अक्षेतामा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलवार विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच म्याग्दी जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई न्यानो पोशाक स्विटर वितरण गरेको हो ।

 

कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले विद्यार्थीहरुलाई जाडो मौसममा विद्यालयमा आउँदा लगाउनका लागि विद्यार्थीहरुलाई स्विटर वितरण गर्नुभएको थियो । जाडो याममा बालबालिकाहरुलाई न्यानोको प्रत्याभूति दिलाउन अर्जन सपिङ सेन्टरको सहयोगमा संस्थाले बालबालिकाहरुलाई स्विटर उपलब्ध गराएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो ।

 

 

कार्यक्रममा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवालले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु अध्ययनरत रहेको अवस्थामा जाडो याममा विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएर जेसीजले रचनात्मक कार्य गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो । उक्त अवसरमा बालकक्षामा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री प्रदान समेत गरिएको थियो ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले शिक्षा कार्यक्रम अन्तर्गत विद्यालयहरुमा विद्यार्थीहरुको खेल तथा कला र संस्कृति लगायतका लुकेका प्रतिभा उजागरमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

म्याग्दी जेसीजका उपाध्यक्ष कुमार बानियाँको स्वागत, सुनिता बेलबासेको जेसीज आस्थापाठ र कृष्णप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा प्रेमी, शिक्षक शिक्षिका र बिधार्थीहरुको उपस्थिति रहेको थियो । तस्बिरः कमल खत्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार