दोस्रो परिवर्तन कप सुरु 

  म्याग्दी न्युज संवाददाता

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोट स्थित परिवर्तन युवा क्लबद्वारा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सुरु भएको छ । बिहिवार वडा अध्यक्ष भेजेन्द्रमान पुन मगरले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले मेला शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

स्थानीय स्तरमा संचालन हुने मेलाले खेलकुद क्षेत्रको विकास , खेलप्रतिभाको पहिचान र कला संस्कृति प्रबर्द्धन टेवा पुग्ने उहाँले बताउनुभयो । खेलकुद क्षेत्रको विकास र प्रबर्द्धनका लागी आफुले सक्दो सहयोग गर्ने उहाँको भनाइ छ ।

क्लब अध्यक्ष थमबहादुर घर्ती मगरले परम्परागत कला संस्कृतिको जगेर्ना , खेलमैदान निर्माणलाई पूर्णता , खेलप्रतिभाको पहिचान र खेलकुद क्षेत्रको प्रवर्द्धन, एक आपसमा भाईचारा सम्बन्ध स्थापित गर्ने उदेश्यले मेला आयोजना गरिएको क्लब अध्यक्ष घर्ती मगरले बताउनुभयो । उहाँका अनुसार , गत वर्ष मेला खर्च कटाएर प्राप्त आम्दानीले खेलमैदान निर्माणको काम सुरु गरेको बताउनुभयो । उहाँले मेलालाई सफल बनाउन सबैलाई सहयोग गर्न अपिल गर्नुभयो । कार्तिक १५ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । मेला संचालनका लागी करिब पाँच लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

छापखानी युवा क्लब बी र आयोजक डी बीच भएको उद्घाटन खेल समय अभावको कारण स्थगित भएको छ । स्थगित भएको खेल शुक्रवार पुनः सुचारु हुने आयोजकले जनाएको छ ।क्लब सचिव सुलब पुन मगरका अनुसार ,मेलामा प्रौढ ,महिला र पुरुष भलिबल तथा तारोखेल लगायत प्रतियोगिता संचालन हुनेछन् । शुक्रबार सम्म विभिन्न बिधामा भाग लिने प्रतियोगी टिमको टुंगो लाग्ने आयोजकले जनाएको छ ।

उहाँका अनुसार , पुरुष भलिबलका बिजेताले ७० हजार रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पार्नेछन । उपबिजेताले ४० हजार ट्रफी , मेडल र प्रमाणपत्र , महिला भलिबल बिजेता र उपबिजेताले क्रमशः२५ हजार र १५ हजार ट्रफी , मेडल ,प्रमाणपत्र हात पार्नेछन् । प्रौढ भलिबल तर्फ बिजेता र उपबिजेताले ३० हजार एवं १५ हजार ट्रफी , मेडल र प्रमाणपत्र ,तारोखेल बिजेता र उपबिजेताले क्रमशः ४० हजार र २५ हजार ट्रफी , मेडल र प्रमाणपत्र हात पार्नेछन । साथै पुरुष र महिला छेलो एवं लठो तान्ने तथा अन्डानिसान प्रतियोगिता बिजेता र उपबिजेताले नगद सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

मेला आर्थिक संयोजक छकप्रसाद घर्ती मगरले संचालन गर्नुभएको कार्यक्रममा सिद्धार्थ मावि व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको म्याग्दी न्युज डटकमले प्रत्यक्ष प्रसारण गर्ने छ । प्रत्यक्ष प्रसारणका लागि म्याग्दी न्युजका संस्थापक सदस्य एवं समाजसेवी बागबिर चोचाङ्गी पुन मगर मुख्य प्रायोजक रहनुभएको छ भने आयोजक क्लब सहप्रायोजक रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार