म्याग्दी । नेपाली कांग्रेस नेतृ तथा गण्डकी प्रदेशसभा सदस्य सांसद बिमला गौचनको निधन भएको छ । म्याग्दी सदरमुकाम बेनी निवासी पर्यटन व्यवसायी समेत रहनुभएकी सांसद गौचनको काठमाडौं स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मध्येराती साढे १२ बजेको समयमा हृदयघातका कारण निधन भएको हो । उहाँका भाइ कृष्ण शेरचनका अनुसार,२४ गते डेङ्गु सङ्क्रमण भएपछि यहि कात्तिक २७ गते अस्पताल लगिएको थियो ।
अहिले शव अस्पतालमा नै राखिएको छ । अमेरिकामा रहनुभएका उहाँका छोरा भोली दिउँसो नेपाल आइपुगेपछि शव बेनी ल्याइने पारिवारिक स्रोतले जानकारी दियो । मंसिर २ गते अन्त्येष्टी गरिने भएको छ । ६३ वर्षिया गौचनका एक छोरी र एक छोरा हुनुहुन्छ । उहाँ प्रदेशसभामा समानुपातिकतर्फबाट हुनुहुन्थ्यो ।
नेपाल महिला संघ म्याग्दीकी पुर्व अध्यक्ष समेत रहनुभएकी गौचन नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य पनि हुनुहुन्थ्यो । स्वर्गिय राम गौचनकी श्रीमती बिमला सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्थ्यो । गौचन बेनी स्थित यति होटलकी सञ्चालक समेत हुनुहुन्थ्यो ।