म्याग्दी । नेकपा एमाले जिल्ला कमिटी म्याग्दी पार्टी स्कुल विभागको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणको दोस्रो दिन आज नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीको नीति, कार्यक्रम र कार्यदिशाको विषयमा प्रशिक्षण दिनुभएको छ ।
पार्टी कार्यालय हाँडेभिरमा आयोजित प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमाले हाल सम्म सरकारमा रहँदाको समयमा भएका महत्वपूर्ण उपलव्धीहरुको समेत समिक्षा गर्नुभएको थियो ।
उहाँले एमालेले काम गर्ने तर प्रचार कम गर्ने भएकाले देशको महत्वपूर्ण विकासका काम एमालेले सुरु गरेको तर जस अरुले नै लिएको बताउनुभयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य किरण गुरुङले नेपालका राजनैतिक दलहरुको तुलनात्मक अध्ययन र वर्तमान राजनैतिक शक्ति सन्तुलनको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै पार्टी स्कुल विभागका सचिव घनश्याम कोईरालाले संगठन निर्माण, तथा प्रशिक्षण व्यवस्थापन र केन्द्रिय सदस्य नरदेवि पुनले समावेशी सिद्धान्त कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुभएको नेकपा एमालेका सचिव थमसरा पुनले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । शनिवार सम्म चल्ने प्रशिक्षण कार्यक्रमले जिल्लाका नेता तथा अगुवा कार्यकर्ताहरुलाई थप उर्जा मिल्ने विश्वास गरिएको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।