तातोपानी कुण्डको संरक्षण आवश्यकः अध्यक्ष प्रचण्ड

  म्याग्दी न्युज संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ ।

म्याग्दीको बेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथलगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ ।

आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उहाँले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताउनुभयो ।

आफू केही वर्षअघि केही मन्त्रीहरुसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार भएको उल्लेख गर्दै उहाँले यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताउनुभयो । अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरु अरु पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

बेनी–ढोरपाटन सडक निर्माण पनि आफूहरुको प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको काम अघि बढिसकेको बताउनुभयो । ‘‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयवासीले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछौं ।’’ उहाँले भन्नुभयो । सो क्रममा उहाँले स्थानीयबासीसँग अन्तरक्रिया पनि गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार