
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३, घुइठे भीरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनुभएको छ । वडा नम्बर ३ सुकेबगरबाट नारच्याङ तर्फ जादै गरेको बा ६च४६४४ नम्बरको भ्यान बेनी- जोमसोम सडक अन्तर्गत गुइठे भीरबाट भ्यान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४, निवासी ४० वर्षीया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको प्रहरी ईलाका प्रहरी कार्यालय भुरुङ तातोपानीका सहायक प्रहरी निरीक्षक रमेश प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार , घाइते हुनेहरूमा वडा नम्बर ४ घरापकी ५२ वर्षीया बिष्णु बुढाथोकी , अन्दाजी ४० वर्षीया नमिता चोचाङ्गी र अन्दाजी ५० वर्षीया रुपा पुन घाइते हुनुभएको छ ।घाइते तीन जनाको उद्धार गरेर उपचारका लागी पोखरा पठाइएको छ ।घाइतेहरुको टाउको , खुट्टा लगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको छ ।

उक्त भ्यान नारच्याङ स्थित शिवालय मन्दिरमा पुजाको लागी जादै थियो। बुधबार बिहान करिब ११ :१५ बजेको समयमा दुर्घटना भएको भ्यान सडकदेखि करिब ५० मिटर तल कालीगण्डकी खोलामा खसेको छ । अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा वडाका जनप्रतिनिधि ,नेपाल प्रहरी , सशस्त्र , अनुसन्धान लगायत स्थानीयबासीले उद्धार गरेका छन् । उक्त घटना पछि यता प्रथम तरुण कप भलिबल प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।