
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, बुक्लमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को सिमेन्ट घोल्ने मिलर (ट्रान्जिट मिस्कर) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भारतीय ठेकेदार कम्पनी जेपीको डिपी टु ए ७०८३ नम्बरको मिस्कर बिहिबार राती साढे ९ बजे बुक्ल स्थित अडिट नम्बर २ मा घुमाउने क्रममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा मिस्सरका चालक बेनी नगरपालिका–२ ,खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सोमदास ढकालका अनुसार, घिमिरेको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनास्थल पुगेर प्रहरी टोलीले अनुसन्धान थालेको छ ।