धार्मिक पर्यटन मार्फत गण्डकी प्रदेशको समृद्धि : मुख्यमन्त्री पाण्डे

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो।

 

आइतबार बेनी नगरपालिका–२ ,ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञको अवलोकन गर्न आउनुभएका मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशमा रहेका धार्मिक स्थलको प्रवर्द्धन र प्रचारप्रसार गरी धार्मिक पर्यटक भिœयाएर प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने धाराणा व्यक्त गर्नुभयो।

प्रदेश भित्र रहेका मुख्य धार्मिक स्थलमा पूर्वाधार निर्माण र प्रवर्धनमा प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। धार्मिक स्थलको प्रचारप्रसार र प्रवर्धनका लागि स्वामी कमलनयन गुरुले चालेका प्रयासलाई प्रदेश सरकारको पनि साथ र सहयोग रहेको उहाँको भनाइ थियो।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘‘गण्डकी प्रदेशमा धार्मिक पर्यटनको उच्च सम्भावना छ। धार्मिक स्थलहरुको प्रचारप्रसार गरी  स्वदेशी तथा विदेशी धार्मिक भक्तजन ल्याउन सकिन्छ। धार्मिक स्थललाई पर्यटनसँग जोड्ने गरी प्रदेश सरकारले केही योजना र कार्यक्रम पनि बनाएको छ। धार्मिक स्थलमा धार्मिक पर्यटक एवम् भक्तजन सहज रुपमा पुग्ने अवस्था सिर्जना गर्न प्रदेश सरकारले सडक निर्माणलाई प्राथमिकता दिएको छ।’’

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही वैशाख १५ देखि  संचालित महायज्ञ ३० गतेसम्म संचालन हुनेछ। धार्मिक पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उद्देश्यले महायज्ञ संचालन गरिएको कमलनयनाचार्यले बताउनुभयो।

गौश्वरा गोवर्द्धन गौ धाम समितिका अध्यक्ष डम्बरबहादुर खत्रीले महायज्ञमार्फत् गौश्वरालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो। महायज्ञमा  संकल्पकर्ता  श्रीमुक्तिनाथबाबा र प्रमुख बाचक आचार्य श्रीसुशर्दनबडालले दैनिक रुपमा धार्मिक प्रवचन दिनुभएको छ। महायज्ञमा म्याग्दी,पर्वत र बागलुङ लगायतका जिल्लाहरुबाट दैनिक रुपमा धार्मिक भक्तजनहरु पुगेका छन्।

महायज्ञ मार्फत करिब तीन करोड रुपियाँ सहयोग संकलन हुने आयोजकले अपेक्षा गरेका छन्। आइतबार सम्म करिब ९० लाख रुपियाँ संकलन भइसकेको आयोजकले जनाएका छन्।

महायज्ञमा बचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला, बहुउद्देश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने महायज्ञ सम्पादन समितिका संयोजक तथा बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर क्षेत्रीले बताउनुभयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार