
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुर्ख्यौली नृत्य प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम भएको छ । गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष एवं गाउँपालिका प्रवत्ता देवेन्द्र रोकाका अनुसार , मुदी पुर्ख्यौली नाच समुह द्वितीय , खिबाङ पुर्ख्यौली नाच समुह तृतिय तथा ताकमको धार्मिक नाच र काफलडाँडा पुर्ख्यौली नाच समुह सान्त्वना भएका छन् । प्रतियोगितामा पाँच नाच समुहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम मुनाले नगद २५ हजार, दोस्रो मुदीले २० हजार, तृतीय खिबाङले १५ र सान्त्वना हुने दुवै समुहले १०/१० हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।
संस्कृतिको संरक्षण, स्थानीय कलाकारहरूलाई प्रोत्साहन र समाजमा मौलिक कला संस्कृतिको बारेमा चेतना जगाउने उद्देश्यले पालिकाले पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । मगर तथा छन्त्याल समुदायको मौलिक कला संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचको संरक्षण र प्रचारप्रसार र नयाँ पुस्तामा कला संस्कृतिको पुस्तान्तरणमा प्रतियोगिताले टेवा पुर्याउने गाउँपालिका अध्यक्ष पुनले विश्वास व्यक्त गर्नुभयो । पुर्ख्यौली नाच पुन मगर समुदायमा मौलिक संस्कृतिका रूपमा रहेको छ । पछिल्लो समय पुर्ख्यौली नाच युवा पुस्ताले अगाडि बढाउन नसक्दा संस्कृतिनै लोप हुने जोखिम बढेकाले गाउँपालिकाले पुर्ख्यौली नाचको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।
वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता रोकाले स्थानीय स्तरमा पुर्ख्यौली संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनमा यस्ता प्रतियोगिताहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पुन ,उपाध्यक्ष पुन ,प्रमुख प्रशासकीय अधिकृत अर्याल ,वडा अध्यक्ष एवं प्रवक्ता रोका लगायतले विजेता ,उपविजेता ,तृतिय र सान्त्वना नाच समुहलाई पुरस्कार वितरण गर्नुभएको थियो ।