प्रथम आरोही हर्जोगका छोरानातिले अन्नपूर्णमा पदयात्रा गर्ने

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मौरिस हर्जोगका छोरानातिले आफ्ना बुबाको नामबाट नामाकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने भएका छन् । अन्नपूर्ण हीरक महोत्वको अवसर हर्जोगका छोरा माथिएस हर्जोगसहितको टोलीले पदयात्रा गर्ने भएको हो । पदयात्राका लागि उहाँहरु नेपाल आइसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ अर्थात् जेठ २० दिन पहिलोपटक मानव पाइला परेको थियो । आठ मिटरभन्दा अग्लो हिमाल अन्नपूर्णमा पहिलो मानव पाइला परेकाले यसलाई जेठो हिमाल भनेर पनि भनिन्छ ।फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाइमा जेठ १६ देखि २१ सम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको छ । मौरिस हर्जोग पदमार्गमा जेठ १७ गते उनीहरुले पदयात्रा गर्ने हीरक महोत्सव मुल समारोह समितिका सदस्य एवम् मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले बताउनुभयो ।

नारच्याङको हुमखोलादेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरसम्म २१ किलोमिटर दूरीको पदमार्गमा जेठ १७ देखि २० गतेसम्म पदयात्रा हुने उहाँले जानकारी दिनुभयो ।पदयात्रामा सहभागी हुन हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन, नाति सिमोन ज्याक्युस, अनुसन्धानकर्ता, पर्वतारोहीसहित १४ सदस्यीय टोली काठमाडौँ आइपुगेको पालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पदयात्रा टोली पहिलो दिन जेठ १७ मा नारच्याङ, हुमखोला हुँदै सम्धिखर्क पुग्नेछ । दोस्रो दिन जेठ १८ मा सम्धिखर्कबाट भुस्केट मेला हुँदै अन्नपूर्ण आधार शिविरमा बास बस्नेछ । तेस्रो दिन भुस्केटमा सांगीतिक कार्यक्रम, हर्जोगको योगदानबारे चर्चासहित कार्यक्रम हुनेछ ।भोलिपल्ट जुन ३ अर्थात् जेठ २० मा प्रधानमन्त्री केपी शर्मा ओलीले आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गर्ने कार्यक्रम तय भएको पालिका अध्यक्ष पुनले बताउनुभयो । आधार शिविरमा आयोजित कार्यक्रमपछि प्रधानमन्त्री ओली नारच्याङको बेंसी गाउँमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा हर्जोगले प्रयोग गरेको बाटोलाई गाउँपालिकाले उहाँको सम्मानमा मौरिस हर्जोग पदमार्ग नामाकरण गरी पूर्वाधार निर्माण गरेको छ ।

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।gorkhapatraonline

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार