
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनता माविको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार वडा अध्यक्ष शैक्षिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ र अभिभावकहरुलाई अभिमुखिकरण गराइएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघको काम ,कर्तव्य अधिकार तथा अभिभावक शिक्षाका बारेमा अभिमुखिकरण गराइएको प्रअ गुनबहादुर पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,कार्यक्रममा केशव प्रसाद रेग्मी र अर्जुन पौडेलले अभिमुखिकरण गराउनुभएको थियो ।
वडा अध्यक्ष पविन गर्बुजाले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले ,कार्यक्रमले विद्यालय व्यववस्थापन सुधार तथा गुणस्तर अभिबृद्धि गर्नमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरुबाट मैना गर्बुजा पुन ,रिता गर्बुजा ,प्रशिक्षकबाट केशवप्रसाद रेग्मीले बोल्नुभएको थियो । प्रअ गुनबहादुर पुनले संचालन गर्नुभएको कार्यक्रममा वडा सदस्य आरती विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीतबहादुर गर्बुजाले समापन गर्नुभएको थियो ।