
बेनी। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने भएको छ ।जिल्ला खेलकुद विकास समितिले शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको हो ।
जिल्लाको रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्याउनुभएको छ। त्यही योगदानको कदर गर्दै शालिक बनाइने घोषणा गरिएको हो ।शाहीले भलिबल खेल मार्फत जिल्ला र देशको गरिमालाई बढाउन र खेलकुद क्षेत्रमा पु¥याउनुभएको योगदानको सम्मानमा खेलकुद विकास समितिको जग्गा वा अन्य उपयुक्त स्थानमा शालिक बनाएर सम्मान गर्ने समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।
उहाँको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स नेसन्स लिगमा पहिलोपटक भारतलाई जित्ने लगायत थुप्रै उपलब्धि हात पारेको छ।
सन् २०१३ मा राष्ट्रिय टिममा प्रवेश गरेकी शाही डेढ दशकभन्दा बढी समयदेखि भलिबल खेलमा सक्रिय छिन् र गण्डकी प्रदेश टिमको कप्तानी समेत गर्नुभएको छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ पुरस्कार प्राप्त गर्नुभएको छ ।शालिक निर्माणको स्थान, लागत र अन्य विवरण छिट्टै सार्वजनिक गरिने समितिले जनाएको छ र यस अभियानमा स्वदेश तथा विदेशका भलिबलप्रेमीबाट सहयोगको अपेक्षा गरिएको छ।
यसैबीच अरुणाको सम्मानमा बनाइने स्तम्भमा स्वदेश तथा विदेशमा रहेका संघसंस्था र खेलप्रेमीहरुको सहयोग समेत लिने योजना रहेको समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले जानकारी दिनुभयो । आर्थिक सहयोगदाताको नाम स्तम्भ आसपासमा शिलालेख बनाएर राखिने र अन्य तयारीका बारेमा थप जानकारी गराउने कोषाध्यक्ष मल्लको भनाइ छ ।