राखु कोतमा राँगोको मार हान्न करिव पाँच लाख बोलकबोल

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, स्थित भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ९२ हजार रुपैयाँको बोलकबोल भएको छ । मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा रघुगंगा गाउँपालिका–२, नागनागी निवासी भगवान खत्रीले सबैले भन्दा बढी रकम तिर्ने कबोल गरेर सरकारी राँगोको मार हान्ने भएको हो ।

पुजा समितिले सरकारी राँगोको बढीबढाउ सुरुवाती मूल्य ५० हजार रुपैयाँबाट सुरु भएको थियो । भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ ।

प्रतिस्पर्धामा भगवतीका विमल बागदाशले ४ लाख ९१ हजार रुपैयाँ बोलेका थिए । अघिल्लो बर्ष रघुगंगा गाउँपालिका– ३ कलेजबाङ निवासी सोवित भण्डारीले ४ लाख ७१ हजार, २०८० सालमा रघुगंगा गाउँपालिका– २, सिजलगाउँ निवासी एकेन्द्र भण्डारीले ३ लाख ३० हजार रुपैयाँ, २०७९ सालको सचिन केसीले रु ३ लाख १५ हजार, २०७८ सालमा आरेन खड्काले ३ लाख रुपैयाँ बोल गरी सरकारी मार हानेका थिए ।

भगवती कोत यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक वर्ष सरकारी मार हान्न आकक्षा राख्नेको सङ्ख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनभयो ।

कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुताएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि ६९ लाख रुपैयाँ खर्चेर पुनःनिर्माण गरेको छ ।

तत्कालिन बाइसे÷चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरेटाकुरे राजा तथा १४ औँ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका राजासँग जोडिएको इतिहास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार