दरबाङ । म्याग्दीको मालिका गाउँपालिका-४,सिस्नेरी स्थित खबाङ आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयकी पुर्व शिक्षक मिमसरा पुनका बुबा तथा विव्यस सदस्य मिना पुनका ससुरा बुबा स्वर्गीय थमबहादुर पुनको सम्झनामा उहाँका छोरा दलबहादुर पुन सहित माइली छोरी ,साइली र कान्छी छोरीले संयुक्त रुपमा एक लाख पाँच सय पाँच रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकम विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विव्यस अध्यक्ष चित्रबहादुर घर्ती मगर ,प्रअ लिलबहादुर सुनार लगायतलाई हस्तान्तरण गरिएको थियो । यसैगरी बुधबार सोही विद्यालयमा अध्ययनरत १७ जना बिद्यार्थी र चार जना शिक्षकहरुलाई विद्यालयमा स्थापित कोषको रकमबाट प्राप्त पच्चीस हजार एक सय रुपैयाँ बराबरको विद्यालय पोशाक खरिद गरेर वितरण गरिएको छ । हालसम्म उक्त कोषमा कुल ६ लाख ६४ हजार रुपैयाँ रकम जम्मा भैसकेको र कोषबाट प्राप्त ब्याजले विद्यालयको आवश्यक शैक्षिक तथा भौतिक काममा खर्च भइरहेको प्रअ सुनारको भनाइ छ ।



























