
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारी स्थित सामाजिक क्रियाकलाप र खेलकुद क्षेत्रमा सक्रिय छहारी युवा क्लबले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी आफ्नो ३९औं वार्षिकोत्सव मनाउने भएको छ । आगामी पौष ५ गतेदेखि ९ गतेसम्म पुरुष भलिबल ,प्रौढ भलिबल ,फाइभ ए साइड फुटबल,स्लो रेस बार्इृक लगायत प्रतियोगिता संचालन हुनेछन् । क्लब सचिव तिलक सापकोटाका अनुसार, पुरुष भलिबलका विजेता र उपविजेताले क्रमशः ८० हजार र ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी प्रौढभलिबलका विजेता र उपविजेताले ५० हजार र तीस हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र,फुटबलका विजेता र उपविजेताले क्रमशः ७० हजार र ४० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

वार्षिकोत्सवमा संचालन हुने स्लो बाइक रेस ,पुरुष/महिला लठो तान्ने ,पुरुष छेलो ,भाले छुने र अण्डानिसान प्रतियोगिताका विजेता र उपविजेताले पनि नगद सहित पुरस्कार प्राप्त गर्नेछन् । वार्षिकोत्वलाई भव्य र शान्तिपुर्णण रुपमा सम्पन्न गर्न आन्तरिक तथा बाह्य तयारीलाई तीब्र पारिएको क्लब अध्यक्ष युबराज पुनले बताउनुभयो । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न उहाँले सबैलाई आह्वान गर्नुभएको छ ।


















































