कृषि मेला प्रदर्शनीमा उत्कृष्ट २० जना कृषकलाई पुरस्कार वितरण

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये म्याग्दीका उत्कृष्ट २० जना कृषकहरु शनिवार पुरस्कृत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजना र कृषि विकास कार्यालयसँगको समन्वय तथा सहकार्यमा सञ्चालित कृषि मेला प्रदर्शनीमा सहभागी ६१ जनामध्ये उत्कृष्ट २० जना कृषकहरुलाई छनोट गरेर पुरस्कृत गरिएको हो ।

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा सञ्चालित कृषि मेला प्रदर्शनीमा अन्य तरकारी बाली समूह, फलफूल, जरे तथा गानो बाली, विविध र काउली बाली समूह गरी कुल ५ वटा विधामा ४ जनाको दरले उत्कृष्ट कृषकहरु छनोट गरी पुरस्कृत गरिएको कृषि विकास कार्यालय म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बाँस्तोलाले बताउनुभयो । उत्कृष्ट कृषकहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी क्रमशः नगद २५ सय, दुईहजार, १५ सय र एकहजार रुपैयाँको दरले नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको उहाँले जानकारी दिनुभयो ।

उत्कृष्ट कृषकहरुलाई वरिष्ठ कृषि विकास अधिकृत बाँस्तोलासहित म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले प्रमाणपत्र र नगदसहितको पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कृत हुने कृषकहरुमा अन्य तरकारी बालीतर्फ जिल्लाको बेनी नगरपालिका–२ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्की, रघुगंगा गाउँपालिका–३ का जीतबहादुर खत्री, बेनपा–६ का श्रीलाल रिजाल र अन्नपूर्ण–६ घारका राम बरुवाल रहनुभएको छ ।

यसैगरी फलफूल बाली समूहतर्फ रघुगंगा–१, का विरबहादुर तिलिजा, मंगला–२ ,का श्रीकृष्ण पौडेल, अन्नपूर्ण–३ का दुर्गादत्त सुवेदी र बेनपा–१, का ईश्वर सुवेदी तथा जरे एवं गानो बाली समूहतर्फ रघुगंगा–१ का ढकबहादुर पुन, ८ नम्बर वडाका बिमला शेरपुन्जा मगर, मंगला–२ का छमलाल पौडेल र बेनपा–५ को आदर्श कृषि फर्म तथा विविधतर्फ बेनपा–९ का भीमबहादुर सुवेदी, धवलागिरि–७ का ओमबहादुर थापा, बेनपा–४ का डिल केसी र बेनी हुलाकचोकका साधनाकुमारी श्रेष्ठ पुरस्कृत हुनुभएको कृषि विकास कार्यालयले जनाएको छ ।

त्यस्तै काउली बाली समूहतर्फ बेनपा–१ का तेजबहादुर बरुवाल, मंगला–२ का हरिकृष्ण अधिकारी, बेनपा–२ खबराका नारायणबहादुर कार्की र १ का रुद्रबहादुर थापा पुरस्कृत हुनुभएको छ । जिल्लाको ग्रामीण भेगका स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि, तरकारी र फलफूल बालीको प्रवद्र्धन तथा प्रचारप्रसार गरी किसानहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले कृषि मेला प्रदर्शनी आयोजना गरिएको थियो । कृषकहरुले मेलाको अवसरमा आफूहरुको उत्पादनलाई प्रदर्शनीका साथै छनोट गरी पुरस्कृत गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् ।

म्याग्दीको बेनीमा गएको बुधवारदेखि ११औं संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो । जिल्लामा म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिले दुई वर्षको अन्तरमा माघेसङ्क्रान्ति मेला लगाउँदै आएका छन् । मेला, महोत्सवको अवसर पारेर कृषि मेला प्रदर्शनीलाई पनि निरन्तरता दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार