बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा युवा नेता अर्जुन थापालाई उम्मेदवार बनाएको छ । नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निश्चित भएको जानकारी दिनुभयो । थापा टिकट लिनका लागि काठमाडौं जानुभएको छ । ११ बजे थापालाई संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले टिकट हस्तान्तरण गर्नका लागि पार्टी कार्यालय बोलाउनुभएको छ । ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७, धारापानी निवासी हुनुहुन्छ ।
वि.स. २०५६ मा शिवाङको हेम (नमुना आवासीय) माविमा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक कमिटिको अध्यक्ष बनेर राजनीतिक यात्रा शुरु गर्नुभएका थापा अध्ययनको क्रममा काठमाडौंमा रहँदा भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गर्नुभएको थियो ।लामो समय विद्यार्थी राजनीतिमा काम गर्नुभएका थापा पछिल्लो पटक साविक नेकपा माओवादी केन्द्रको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । राजनीतिशास्त्रमा स्नाकोत्तर गर्नुभएका थापाको नेतृत्वमा काठमाडौंमा स्वतन्त्र रक्तदाता समूहले बिरामीहरुलाई नि:शूल्क रगतको ब्यवस्था मिलाउदै आएको छ ।
५२ पटक रक्तदान गरेका थापाको समुहले १० हजार जना भन्दा बढी बिरामीलाई उपचारका लागि नि:शूल्क रगतको व्यवस्था मिलाएको छ । बुवा र आमाको नामबाट चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आउनुभएको छ ।


























