म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेर किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो उम्मेदवार दर्ता गरेसँगै उहाँ जिल्लाको पश्चिम भेग तिर लाग्नुभएको थियो । उहाँ जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुग्दै मतदातासँग संवाद गर्नुका साथै आफ्नो आत्मकथा पुस्तक समेत बिक्री गर्दै फरक ढङ्गले चुनावी अभियान सञ्चालन गर्नुभएको छ । महावीरको स्वतन्त्र उम्मेदवारीले जिल्लामा चुनावी रौनक फरक देखिएको छ । डा. पुनले बुधबार धवलागिरी गाउँपालिकाको मुना, मुदी र खिबाङ पुगेर मतदातासँग भेटघाट गर्नुका साथै आत्मकथा पुस्तक बिक्री गरेको उहाँका सहयोगी चित्र तिलिजाले बताउनुभयो ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष समेत रहनुभएका डा. पुनले निर्वाचन प्रचारप्रसारका साथै आफ्नो किताब बिक्री गर्ने उद्देश्य राख्नुभएको उहाँले बताउनुभयो । पुनका सहयोगी तिलिजाले भन्नुभयो, ‘‘उहाँको किताब म्याग्दी जिल्लाको ग्रामिण भेगहरुमा पुगेको छैन । अहिले निर्वाचनमा उहाँ स्वतन्त्र उम्मेदवार समेत हुनुभएको छ । चुनाव प्रचारप्रसार, मतदाता सँग भेटघाट, परिचय र किताब बिक्री गर्ने काम सँगसँगै गर्दछौं ।’’ चुनावी अभियानका क्रममा जिल्लाका ग्रामीण वस्तीहरुमा किताब पु¥याउने उहाँले बताउनुभयो ।
अध्यादेशबाट शिक्षा सुधारका लागि विधेयक ल्याउने प्रयास असफल भएपछि झोक्किएर मंगलवार मन्त्रीबाट राजीनामा दिएर चुनाव लड्न पुर्ख्यौली थलो म्याग्दी आएको डा. पुनले बताउनुभएको छ । डा.पुनको अन्नपूर्ण गाउँपालिका–८, नांगी गाउँ पुर्ख्यौली थलो हो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् । जिल्लामा ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ । गोरखापत्र अनलाइन


























