
म्याग्दी, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको मूल निर्वाचन प्रचार–प्रसार समितिको आयोजनामा आजदेखि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित औपचारिक प्रचार प्रसार कार्यक्रम सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित एमालेले बेनी नगरपालिका–४ डाँडाखेतबाट प्रचार अभियान अघि बढाएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै यसअघि जिल्लाभर घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरेको एमालेले निर्वाचन आचारसंहिताअनुसार सोमबारदेखि खुला आमसभा, भेला, जुलुस र कोणसभा जस्ता कार्यक्रम आयोजना गर्न सुरु गरेको जनाएको छ । निर्वाचन आयोगका अनुसार आजदेखि राजनीतिक दल तथा उम्मेदवारहरूले औपचारिक रूपमा जुलुस, आमसभा, भेला तथा सञ्चारमाध्यममार्फत चुनावी सामग्री प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था छ ।

डाँडाखेतमा आयोजित खुला कार्यक्रममा बोल्दै प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार तथा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ ले आफू लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै जिल्लाको समग्र विकासमा लागिरहेको बताउनुभयो । उहाँले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै पर्यटन, जलविद्युत् र कृषि क्षेत्रको विकासमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो ।
श्रेष्ठले विगतमा एमालेको पहलमा सुरु भएका विकास योजनाहरूलाई स्तरोन्नति गर्दै दिगो रूपमा अघि बढाउने र जनताको हकहितका पक्षमा काम गर्ने उद्देश्यले पुनः निर्वाचनमा होमिएको बताउनुभयो । देशको विकासको नेतृत्व गर्ने, जनमुखी नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयन गर्ने क्षमता एमालेसँग रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा सूर्य चिह्नमा मतदान गरी विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै एमालेकी केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा समानुपातिक उम्मेदवार नरदेवी पुन ले आफ्नो कार्यकालमा जिल्लामा थुप्रै विकास निर्माणका काम सम्पन्न भएको उल्लेख गर्दै बाँकी योजनालाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र सुदृढ गर्दै विकासको गतिमा अघि बढाउने पार्टी एमाले नै भएको दाबी गर्दै आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन अपिल गर्नुभयो । वर्तमान निर्वाचन देशको भविष्यसँग जोडिएको प्रतिस्पर्धा भएकाले राष्ट्रियता र विकासको पक्षमा उभिनुपर्ने उहाँको भनाइ थियो ।
एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी ले विसं २०५१ सालदेखि एमाले नेतृत्वको सरकारले विकासको लहर सुरु गरेको दाबी गर्नुभयो । उहाँका अनुसार एमालेले अर्थतन्त्र सुधार, सुरुङमार्ग निर्माण, तेल तथा फलाम खानीको पहिचान, चीनसँग जोडिएका सीमा नाका सञ्चालन, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा असहायलाई सामाजिक सुरक्षाभत्ता प्रदान जस्ता जनमुखी कार्यक्रम कार्यान्वयन गरेको छ। संविधान निर्माणमा समेत एमालेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूर्णता दिन एमालेको विजय आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम एमाले म्याग्दीका लेखा समिति संयोजक तथा पूर्व वडा अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता र बेनी नगरपालिका कमिटीका अध्यक्ष बेलबहादुर कटुवालको सञ्चालनमा सम्पन्न भएको थियो । डाँडाखेतबाट सुरु भएको औपचारिक प्रचार कार्यक्रमअन्तर्गत सोमबार बेनी नगरपालिका–४ को पौडेलचोक, तातोपानी बजार क्षेत्र, वडा नम्बर २ ज्यामरुककोट, भकुण्डे र खबरामा भेला, मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम तय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।


















































