म्याग्दीमा काँग्रेसद्वारा औपचारिक चुनाव प्रचार सुरु

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी, ४ फागुन । नेपाली काँग्रेस म्याग्दीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै औपचारिक रूपमा चुनाव प्रचार अभियान सुरु गरेको छ । निर्वाचन आयोगले निर्धारण गरेको समयतालिका अनुसार सोमबारदेखि प्रचार–प्रसारलाई तीव्र बनाइएको पार्टीले जनाएको छ । यसअघि एक महिनासम्म घरदैलो कार्यक्रम, नेता कार्यकर्ता परिचालन तथा प्रतिस्पर्धी दलहरूको अवस्था विश्लेषण गरिएको काँग्रेसले अब वडा–वडामा सभा आयोजना गरेर चुनावी माहोल तताउने रणनीति अपनाएको हो ।

सोमबार बेनी नगरपालिकाको वडा नं. ९ घतान, वडा नं. ५ पुलाचौर र वडा नं. ६ अर्थुङ्गेमा चुनावी सभा सम्पन्न गरिएको छ । सभाहरूमा राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको भूमिका, विगतमा जनप्रतिनिधिहरूले गरेका कार्यहरू तथा उम्मेदवारका प्रतिबद्धताबारे मतदातालाई जानकारी गराइएको थियो ।

काँग्रेसका केन्द्रीय सदस्य रेशमबहादुर बानियाले विशेष महाधिवेशनपछि पार्टीले विगतका कमजोरी सच्याउँदै नयाँ ढंगले अघि बढेको दाबी गर्नुभयो । उहाँले २००७ सालदेखि हालसम्मका राजनीतिक परिवर्तनमा काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै वर्तमान राजनीतिक चुनौती समाधानका लागि पनि काँग्रेसकै नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो ।

निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका बानियाले म्याग्दीमा पार्टी आन्तरिक रूपमा एकताबद्ध रहेको र सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित भएकाले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभाका निवर्तमान सांसद एवं पूर्व राज्यमन्त्री खमबिर गर्बुजा (खम्वीर)ले आफ्नो कार्यकालमा सुरु भएका योजनाहरूको विवरण प्रस्तुत गर्नुभयो । रघुगंगा र बेनी नगरपालिकालाई समेट्ने बृहत् घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयनमा आएको तथा प्रदेश सरकारसँग समन्वय गरी बेनी–पाखापानी सडक योजना अघि बढाइएको उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर (केबी) भण्डारीले १६ वर्षअघि म्याग्दी फर्किएर सामाजिक सेवामा संलग्न रहेको उल्लेख गर्दै विकासका विभिन्न योजना अघि सार्नुभयो । कानुन विषयमा अध्ययन गरेका आधारमा नीति निर्माणमा योगदान दिन सक्ने र संघीय तहबाट योजना तथा बजेट भित्र्याउन सक्ने क्षमता आफुमा रहेको उहाँले दाबी गर्नुभयो ।

उहाँले हिमाली जिल्लामा विकास आयोजनाहरू कार्यान्वयन गर्ने, नीतिगत समस्याका कारण बन्द रहेका तामा खानी पुनः सञ्चालन गर्ने, स्लेट खानी व्यवस्थित गर्ने तथा पर्यटन उद्यममार्फत रोजगारी सिर्जना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

काँग्रेसले आगामी दिनमा सबै वडामा चुनावी सभा, घरदैलो कार्यक्रम र मतदाता भेटघाटलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार