
बेनी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनको जित सुनिश्ति भएको छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएपछी उहाँको जित निश्चित भएको हो ।
बेनी स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा जारी मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले बीस हजार २०८ मत सहित अग्रता कायम गर्नुभएको छ । सबै मतगणना सकेपछी औपचारिक रूपमा बिजयी घोषणा गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको धवलागिरी, मालिका, मंगला, रघुगंगा गाउँपालिका , बेनी नगरपालिका र अन्नपूर्णको ४ वडा सम्मको मतगणना सकिँदा पुनले उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा भारी मतान्तर सहित अघि बढ्नुभएको छ । श्रेष्ठले सात हजार ५२४ मत प्राप्त गर्नुभएको छ ।
अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १,२,३र ४ बाहेक अन्य वडा गणना हुन बाँकी छ । एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो ।



















































