शिख, ३० चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलाटेमा रहेको शारदा आधारभूत विद्यालयले सोमबार विविध कार्यक्रमसहित आफ्नो स्वर्ण जयन्ति भव्य रूपमा मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजाले स्वर्ण जयन्ति स्तम्भको अनावरण गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलक गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सहयोगदाताबाट विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । बेलायतमा रहेका चनदेवी र लोक गर्बुजाले झोला तथा इनकुमारी र रामप्रसाद पाइजाले ट्याकसुट वितरण गर्नुभएका थियो ।

प्रधानाध्यापक अनिता पुनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा स्वर्ण जयन्ति संयोजक केश गौचन, आसबहादुर पुर्जा, पूर्व प्रधानाध्यापक हरिला आचार्य, भक्तबहादुर क्षेत्री तथा सहयोगदाता दलबहादुर शेरचन र बेलबहादुर पुर्जालाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

त्यसैगरी गाउँपालिकाको शिक्षा शाखाका मेखबहादुर घर्ती क्षेत्री, अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर पुर्जा, वडा–६ का सदस्य चिनबहादुर गर्बुजा, शिख माध्यममिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बागबिर पाइजा र प्रधानाध्यापक खेम पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय कलाकारहरूले मौलिक पुख्यौली नृत्य प्रस्तुत गर्दै सांस्कृतिक झलक प्रस्तुत गरेका थिए ।
स्वर्ण जयन्तिको अवसरमा विद्यालयको योगदान, उपलब्धि र भविष्यको शैक्षिक सुधारमा जोड दिँदै सम्पन्न भएको थियो ।


























