
बेनी, ९ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुस्थित मुख्ले भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । बुधबार राति करिब १२ः३० बजे तीन जना मिलेर जंगली कुखुरा मार्न जंगलतर्फ गएका बेला भिरबाट लड्दा बेनी नगरपालिका–६ निवासी अन्दाजी १९ वर्षीय सुदीप किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार बेनी नगरपालिका–३ भकिम्ली राखुका २७ वर्षीय हरिप्रसाद रोका र सोही स्थानका २८ वर्षीय लक्ष्मण रोकासँगै सुदीप जंगलतर्फ गएका थिए । घटनास्थल नजिकै एउटा गुलेली र ढुंगाको गोटी समेत फेला परेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










































