
म्याग्दी, ७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले पालिकाभित्र रहेका प्रहरी चौकीहरुलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले पाँच वटा प्रहरी चौकीलाई करिब रु ३ लाख बराबरका सामाग्री उपलब्ध गराएको हो ।
मौवाफाँट, पाखापानी, चिमखोला, भगवती र तिप्ल्याङ प्रहरी चौकीमा कार्यरत प्रहरीका लागि चेन्सा मेसिन, फायर एक्सटेङ्गुइसर, डोरी, झोला, रेनसेट, गमबुट, ग्लोब्स, सेफ्टी हेल्मेट, लाइफ ज्याकेट लगायतका सामाग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन तथा प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रहरी चौकीका इन्चार्जहरुलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
सामाग्री वितरण कार्यक्रममा अध्यक्ष भण्डारीले विपद्को समयमा नागरिकको सुरक्षाका लागि खटिने सुरक्षा निकायलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले विगतदेखि नै पालिका अन्तर्गतका प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयलाई विभिन्न प्रकारका सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
गाउँपालिकाका विपद् व्यवस्थापन शाखाका फोकल पर्सन दयाराम पौडेलका अनुसार गत वर्ष पनि प्रहरी चौकीहरुलाई बेल्चा, गैँची, गल, हाते आरी, हसिया, बन्चरो लगायतका विपद् व्यवस्थापन सामाग्री वितरण गरिएको थियो ।
यस वर्ष प्रहरीले नागरिकका घरदैलोमा टाँस गर्ने सुरक्षा सन्देशमूलक स्टिकर छपाइमा समेत गाउँपालिकाले सहयोग गरेको जनाएको छ । साथै आफ्नै भवन नभएका पाखापानी र तिप्ल्याङ प्रहरी चौकीको घरभाडा समेत गाउँपालिकाले व्यहोर्दै आएको छ ।














































