
बेनी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा सोमबारदेखि ७६ औं आरोहण दिवस मनाउन शुरु भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ ,नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन थालिएको हो । अन्नपूर्ण गाउँपालिका–४,का वडा सदस्य श्याम पुर्जाले दिवसको अवसरमा आयोजित दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिहरु साेमबार नारच्याङ देखि आधार शिविर तर्फ प्रस्थान गरेका जानकारी दिनुभयो ।
“चार जना महिला, नौ जना पुरुष धावक सहित हुमखोला देखि आधार शिविर पदयात्रामा सहभागीहरुलाई बिदाई गरेर दिवसको शुरुवात गरेका छौ,” उहाँले भन्नुभयो “यही जेठ २० गते आधार शिविर देखि नारच्याङ सम्म ३६ किलोमिटर दुरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिनेछ् ।”दौड प्रतियोगितामा सहभागी हुनेहरु थपिने क्रम जारी रहेको वडा सदस्य पुर्जाले बताउनुभयो । खुल्ला दौड प्रतियोगितामा बिजेतालाई एक लाख रुपैयाँ, उपबिजेतालाई ६० हजार रुपैयाँ, तेस्रोलाई ३५ हजार रुपैयाँ र शान्त्वना स्थान हाँसिल गर्ने तीन/तीन जनालाई १०/१० हजार रुपैयाँ नगद पुरस्कारको ब्यवस्था गरिएको अन्नपूर्ण गाउँपालिका–४,का वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स संघको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।














































